Lectionary Calendar
Sunday, April 5th, 2026
Easter Sunday
Attention!
Tired of seeing ads while studying? Now you can enjoy an "Ads Free" version of the site for as little as 10¢ a day and support a great cause!
Click here to learn more!

Read the Bible

पवित्र बाइबल (सरल नेपाली)

प्रस्थान 15

1 त्यसपछि मोशा अनि इस्राएलीहरूले परमप्रभुको निम्ति यो गीत गाउन थाले।“म परमप्रभुको निम्ति गाउनेछु। उहाँले महान कार्य गर्नु भयो। उहाँले घोडाहरू तथा सवारीहरूलाई समुद्रमा फ्याँकि दिनुभयो।2 परमप्रभु मेरो शक्ति हुनुहुन्छ, उहाँले मलाई बचाउनु हुन्छ। परमप्रभु मेरो परमेश्वर हुनुहुन्छ, अनि म उहाँको स्तुति गर्छु। परमप्रभु मेरो पिता-पुर्खाहरूको परमेश्वर हुनुहुन्छ अनि म उहाँको आदर गर्छु।3 परमप्रभु एउटा योद्धा हुनुहुन्छ, उहाँको नाउँ परमप्रभु हो।4 उहाँले फिरऊनका रथहरू र सेनालाई समुद्रमा मिल्काई दिनु भयो। फिरऊनका अत्यन्तै असल सैनिकहरू लाल समुद्रमा डुबे।5 गहिरो पानीले तिनीहरूलाई डुबायो अनि तिनीहरू ढुङ्गा झै गहिराईमा भासिए।6 “तपाईंको दाहिने बाहुली अद्भूत शक्तिशाली छ। हे परमप्रभु, तपाईंको दाहिने बाहुलीले शत्रुको विनाश गर्यो।7 आफ्नो महान महिमामा तपाईंले ती मानिसहरूको नाश गर्नु भयो जसले तपाईंको विरोध गरे। तपाईंको रीसले परालको आगोले झैं तपाईंका शत्रुहरूलाई जलायो।8 तपाईंको नाकबाट निस्केको सासले पानीलाई एक ठाउँमा थुपारी दियो। बगिरहेको पानी पर्खाल झैं उभियो। समुद्रको गहिराइ सतहमा ठोस बनियो।9 “शत्रुले भन्यो, ‘म तिनीहरूलाई खेद्नेछु र समात्नेछु, म तिनीहरूको सम्पूर्ण सम्पति लुट्नेछु। म मेरो तरवार निकाल्नेछु र तिनीहरूलाई पराजित गर्नेछु।’10 तर तपाईंले तिनीहरूमाथि फुकिदिनु भयो अनि तिनीहरू समुद्रमा ढाकिए। तिनीहरू नाप्न नसकिने गहिरो समुद्रमा डुबे।11 “के कतै परमप्रभु जस्तो अन्य देवाताहरू छन्? अँह, तपाईं झै अन्य देवता कतै छैनन्-तपाईं आश्चर्यपूर्ण पवित्र हुनुहुन्छ! तपाईं विष्मय पूर्ण शक्तिशाली हुनुहुन्छ! तपाईं अचम्मको काम गर्नुहुन्छ।12 तपाईं आफ्नो दाहिने बाहुली तेर्साउनु हुन्छ अनि पृथ्वीलाई नाश गर्नु हुन्छ।13 तर आफ्नो दयाद्वारा आफूले बचाएका मानिसहरूलाई तपाईंको दयाले डोर्याउनु हुन्छ। अनि आफ्नो क्षमताले तिनीहरूलाई पवित्र प्रसन्न भूमिमा डोर्याउनु हुन्छ।14 “अरू राष्ट्रहरूले यो कथा सुन्ने छन् र तिनीहरू डराउने छन्। पलिश्तीका मानिसहरू डरले काम्ने छन्।15 एदोमका प्रमुखहरू डरले काम्नेछन्, मोआबका प्रमुखहरू डरले काम्नेछन्। कनानीहरूले तिनीहरूको साहस हराउनेछन्।16 जब मानिसहरूले तपाईंको शक्ति चाल पाउँछन् तिनीहरू भयभीत हुनेछन्। जबसम्म तपाईंका मानिसहरू पार हुँदैनन्, तिनीहरू चट्टान जस्ता हुनेछन्।17 हे परमप्रभु तपाईंले आफ्नो मानिसहरूलाई आफ्नो पर्वतमा डोर्याउनु हुनेछ। तपाईंले बसोबासो गर्न बनाएको सिंहासनको नजिकमा तपाईंले तिनीहरूलाई बस्न दिनु हुनेछ।18 परमप्रभुले सदा-सर्वदाको निम्ति शासन गर्नुहुनेछ।”19 हो, साँच्चै नै यस्तै भयो। फिरऊनका घोडाहरू, घोडसवार र रथहरू सबै समुद्रमा डुबे। अनि परमेश्वरले तिनीहरूमाथि समुद्रको सबै पानी ल्याउनुभयो। इस्राएलीहरू समुद्रको माझबाट सूखा भूमिमा हिंडे।20 त्यसपछि हारूनकी दिदी महिला अगमवादिनी मरियमले खैंजडी समातिन मरियम र अरू स्त्रीहरू गाउन र नाच्न थाले। मरियमले यी शब्दहरू दोहर्याइन।21 “परमप्रभुप्रति गीत गाऊ, उहाँले महान कार्य गर्नु भएको छ, उहाँले घोडाहरू र सवारहरूलाई समुद्रमा फ्याँकिदिनु भयो।”

22 मोशाले इस्राएलीहरूलाई लाल समुद्रदेखि शूरको मरूभूमितिर डोर्याउने गरे। तिनीहरू मरूभूमिमा तीन दिनसम्म यात्रा गरे। तिनीहरूले पिउने पानी कतै भेटेनन्।23 तीन दिनपछि ती मानिसहरू मारामा आइपुगे। मारामा पानी त थियो तर पिउँन नसकिने तीतो थियो। (यसकारण मानिसहरूले त्यस ठाउँको नाउँ मारा राखे।)24 मानिसहरू मोशासित गुनासो पोख्न थाले। मानिसहरूले भने, “अब हामीहरूले के पिउने छौं?”25 मोशाले परमप्रभुलाई पुकार गरे। यसर्थ परमप्रभुले तिनलाई एउटा रूख देखाउनु भयो। मोशाले त्यस रूखलाई पानीमा डुबाए अनि पानी पिउने लायकको भयो।त्यस ठाउँमा परमप्रभुले मानिसहरूको परीक्षा लिनु भयो अनि तिनीहरूका निम्ति उहाँले नियम बनाइ दिनु भयो। परमप्रभुले ती मानिसहरूमा विश्वासको पनि परीक्षा गर्नुभयो।26 परमप्रभुले भन्नु भयो, “तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको आज्ञा पालन गर्नु पर्छ। उहाँले भन्नु भएको आज्ञाहरू तिमीहरूले मान्नै पर्छ। यदि तिमीहरूले उहाँका आज्ञाहरू पालन गर्यौ र नियमहरू मान्यौ भने मिश्रवासीहरू जस्तै तिमीहरू रोगी हुने छैनौ म परमप्रभु हुँ। म एक जना हुँ जसले तिमीहरूलाई स्वस्थ राख्छ।”27 तब मानिसहरू एलीमतिर लागे। एलीममा बाह्रवटा जलस्रोत र सत्तरीवटा खजूरको रूखहरू थिए। यसर्थ मानिसहरूले त्यस पानीको नजिक आफ्नो छाउनी बनाए।

 
adsfree-icon
Ads FreeProfile